चुलिँदै करार कर्मचारी विवाद ठाँटीकाँधमा पनि विरोध सुरु

दैलेख : दैलेखको गुराँस गाउँपालिकाबाट सुरु भएको करार कर्मचारी हटाएपछिको बिवाद अहिले दैलेखका बिभिन्न पालिकाहरुमा चुलिँदै गएको छ ।
जिल्लाका राजनीतिक दल प्रमुखहरुले बिवाद नबढाउन र उच्च समझदारी कायम गर्दै सवैलाई समान अवसर प्रदान गर्न आग्रह गरिरहेको भएपनि विवाद समाधान हुन नसकेको हो ।
नेपाल कम्युनिष्ट पार्टी एमाले ठाँटिकाँध र चामुण्डाबिन्द्रासैनी गाउँपालिका कमिटीले नियम विपरीत स्थानीय तहमा कार्यरत करार कर्मचारी हटाएको भन्दै विज्ञप्ति मार्फत बिरोध सुरु गरेका छन् ।
बिहीबार गाउँकमिटिले एक विज्ञप्ति जारी गर्दै करार सेवा मापदण्ड २०७८ विपरीत करार कर्मचारी हटाएको जनाएको हो ।
विगतको सरकारले स्थानीय तहमा कर्मचारी अभावले नियमित कार्य सञ्चालन गर्न कठिनाइ हुँदा विभिन्न समयमा प्रक्रिया पूरा गरी करार सेवामा नियुक्ति गरिएका कर्मचारी हटाउने गाउँपालिकाको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
राजनीतिक आग्रह पूर्वाग्रहबाट स्थानीय सरकार सञ्चालन गर्न खोज्नु स्थानीय सरकार र स्थानीय जनताको भावना विपरीत कार्य भएको एमाले ठाँटिकाँध गाउँपालिका कमिटी अध्यक्ष कुमार विक्रम साही द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गैर राजनीतिक क्रियाकलापहरू यथाशिग्र बन्द गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराउँदछौँ, यस अघि कामकाज गरिरहेका करार कर्मचारीहरूलाई काममा लगाई पालिकाबाट प्रदान गरिने सेवा प्रवाहमा सहजता सिर्जन गर्न आग्रह गर्दछौँ, अन्यथा राजनैतिक प्रतिशोधका आधारमा सत्ता र शक्तिको दुरुपयोग गरिए एमाले ठाँटिकाँध जस्तोसुकै कदम चाल्न तयार हुने छ’
कहिदिन अघि मात्र ठाँटिकाँध गाउँपालिकाले विभिन्न पदमा कार्यरत ७ जना करार कर्मचारी हटाउने निर्णय गरेको थियो । गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले करार सेवामा काम गर्ने कर्मचारीहरूले कार्यसम्पादन मूल्याङ्कन राम्रो नगरेका, विभिन्न निर्वाचनमा पार्टीका झन्डा बोकेर हिँड्ने गरेकाले साउन १ गतेदेखि करार सम्झौता नगर्ने निर्णय गरिएको बताएका थिए ।
दैलेखका अन्य स्थानीय तहले करार कर्मचारीहरू हटाउने भन्दै गरेका निर्णयहरू विवादमा परेका छन् । केही दिन अघि गुराँस गाउँपालिकाले १ सय ५८ जना करार सेवाका कर्मचारीहरूको साउन १ गते देखि सम्झौता नगर्ने भने पछि भएको बिवाद अँझै समाधान हुन सकेको छैन् । डुंगेश्वर गाउँपालिकामा हटाइएका करार कर्मचारीहरूले गाउँपालिकामा ताला लगाएपछि विवाद बढेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार